शिक्षक-अभिभावक नै यस्ता,विद्यार्थी कस्ता ?

-निर्जला कक्षपती

1460879761nirjala123धनुषा घोडघाँस गाविस वडा नं ७ का विद्यालय जाने उमेर समूहका स–साना नानीहरु अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय गएर पढ्नु भन्दा घरको कामलाई नै प्राथमिकता दिनु उनीहरुको मजबुरी बनेको छ । २१ औं शताब्दी सम्म आइपुग्दा पनि यहाँका बालबालिका तथा अभिभावकमा शिक्षा प्रति मोह नजाग्नु भनेको शिक्षाको महत्व नबुझ्नु नै हो ।

वडा नं ७ मा रहेको यो घोडघाँस गाविसमा अधिकांस तत्मा बस्ती रहेको छ । तत्मा भनेको दास थर हो । दलित र जनजातीको बाहुल्यता रहेको यो बस्तीमा चमार, डोम, मुसहर, पासवान जातीका मानिसहरु बस्ने गर्छन् । यस जातीका मानिसहरुको मुख्य व्यवसाय भनेको खेतीपाती गर्नु र माछा मार्नु रहेको छ । अभिभावकहरु बिहान उठेदेखि नै खेतीपातीमा संलग्न हुने भएका कारण आफना छोराछोरीलाई उनीहरुले समय दिन सकेका छैनन् र आफूले नपढेका कारण पनि छोराछोरीलाई पढाईको महत्व बारे अथ्र्याउन सकेका छैनन् । त्यसैले स्कूल जाने उमेरका धेरै बालबालिकाहरु स्कूल जानबाट वन्चित हुनु परेको हो ।

एक तथ्यांक अनुसार, घोडघाँस गाविसमा रहेको यो बस्तीमा एकसय घरधुरी रहेको छ र यहाँका डेढसय भन्दा बढी बालबालिका विद्यालय जादैनन् । राष्ट्रिय निमावि गंगोलीका प्रधानाध्यापक धनीराम ठाकुरका अनुसार ‘भर्ना अभियानका बेला केही विद्यालयले झोला, किताव कापी लगायतका सामग्री वितरण गर्ने हुँदा सामग्री पाउने लोभमा विद्यालयमा भर्ना हुने गर्छन् तर ती विद्यार्थीहरुको निरन्तरता भने छैन । विद्यालय छाड्ने प्रवृत्तिले गर्दा गाउँमा पाँच कक्षासम्म पढेका बालिकाहरु भेटिन मुस्किल पर्छ । अधिकांश बालबालिकाहरु दिनभर घरमा यत्तिकै खेलेर बस्ने गर्छन् तर विद्यालयमा पढ्न आउदैनन् । छोराछोरीलाई पढाएर तुरुन्त प्रतिफल नआउने हुँदा विद्यालयमा गएर पढ्नको लागि उनीहरुका अभिभावकले समेत प्रेरित गर्दैनन् ।’

यस घोडघाँस गाविस वडा नं ७ का अधिकांश अभिभावक अशिक्षीत छन् । गाउँमा १० कक्षासम्म पढेका युवाहरु भेटिन मुस्किल छ । माध्यमिक तह सम्म पढेका युवाहरुले जागिर नपाएपछि उनीहरु बैदेशिक रोजगारमा जान बाध्य हुनु परेको छ । बैदेशिक रोजगारमा जानेहरुले महिनै पिच्छे घरमा १० (१२ हजार रुपैंया पठाउने हुँदा अहिले अभिभावकको रोजाई समेत बैदेशिक रोजगार बन्ने गरेको छ । त्यसैले यहाँका अभिभावकहरु विशेष गरि छोरालाई खाडी मूलुकमै श्रम गर्न पठाउन चाहान्छन् भने छोरीलाई भने सानैदेखि नै घरको काममा संलग्न गराउने र ठूलो भएपछि विवाह गरी पठाउने गर्छन् । त्यसैले गाउँमा माध्यमिक तहसम्म पढ्ने कुनै एक व्यक्ती फेला पार्न समेत निकै कठीन छ । अहिले त गाउँमा युवा प्रायः सून्य रहेको छ । गाउँमा बचे–खुचेका केही युवाहरु भने पूख्र्यौली माछापालन, खेतीपाती र जनकपुरमा आएर मजदुरीको काम गर्ने गर्छन् ।

विद्यार्थीहरु विद्यालय नजानुको अर्को प्रमुख कारण भनेको शिक्षकहरु विद्यालय अनुपस्थित हुनु पनि हो । अधिकांश शिक्षकहरु नियमित विद्यालय नजाने कारणले गर्दा विद्यालयमा नियमित पढाई हुन सक्दैन । अर्कोतर्फ विद्यालय गएका गएका शिक्षकहरु पनि हाजीर गरेर आफनो व्यक्तिगत काममा निस्कीहाल्ने प्रवत्तिले गर्दा यहाँका सरकारी विद्यालयहरुमा राम्रो अध्ययन हुन सकेको छैन । यसले गर्दा पनि यहाँका बालबालिकाहरु विद्यालय गएर समय नष्ट पार्नु भन्दा घरकै काममा बढी व्यस्त रहन्छन् । एक स्रोतका अनुसार, कतिपय शिक्षकहरुले महिना दिनको एकपटक एकैचोटी हाजिर गर्ने गर्छन् । यस्तो ठग्ने क्रम प्रधानाध्यापक देखि लिएर शिक्षक सबैको मिलेमतोमा हुने गरेको छ । विद्यालयका शिक्षकहरु नियमित विद्यालय जानुको साटो राजनीतिक गतिविधीमा समेत संलग्न हुने गरेका छन् ।

यसले गर्दा विद्यालयमा नियमित पढाई हुन सकेको छैन । सरकारले वर्षमा २२० दिन विद्यालय खोल्नुपर्ने र १९२ दिन अनिवार्य पढाई हुनुपर्ने भनेर तोकेपनि यहाँका धेरै विद्यालयमा सरकारले तोकेको यो समयसीमा अवधिभर पढाई हुने गरेको छैन् । यो वर्षको कुरा गर्दा त झन, तराईमा भएको मधेस आन्दोलनले यहाँको सामुदायिक विद्यालयमा नराम्ररी असर पारयो । स्थलगत अध्ययनका क्रममा हामी ,चैत महिनाको मध्यतिर धनुषाका केही ठाउँमा पुग्दा यहाँका अधिकांश सामुदायिक विद्यालयले यो वर्षको शैक्षिक सत्रको अन्त्य गरिसकेका थिए । र नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र पढाई सुचारु गर्ने उद्देश्यले यस क्षेत्रका विद्यालयहरु बन्द थिए । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दनिकान्त झाका अनुसार भने धनुषाका सबै विद्यालयमा गएर महिना÷महिना दिनमा विद्यालय निरीक्षक गएर अनुगमन गर्ने गर्छन् । यदि कोही शिक्षकले यसरी एकैचोटी हाजीर गर्ने गरेको भए जिल्ला शिक्षा कार्यालयले कारबाही गर्ने चेतावनी समेत उनले दिए ।

तराईका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जोडिएको यो दोस्रो प्रदेशको औसत साक्षरता दर ४१ प्रतिसत छ । सरकारी तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी निरक्षर जनसंख्या सर्लाहीमा रहेको छ । यो जिल्लामा १ लाख ६५ हजार ८ जना निरक्षर छन् । यसैगरी बढी निरक्षर रहेको दोस्रो जिल्ला महोत्तरी, तेस्रो जिल्ला धनुषा, चौथों जिल्ला रौतहट र पाचौं जिल्ला सिराहा हो । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दनिकान्त झाका अनुसार, ‘यो प्रदेश उद्योगको हिसावले हेर्दा सुगम मानिए पनि शिक्षाको हिसावले हेर्दा दुर्गम नै मान्नुपर्छ । किनभने अझपनि आफना छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना अभिभावकमा आइसकेको छैन । र राज्यले पनि धनुषामा अभिभावक र बालबालिबालाई उत्प्रेरित गराउने त्यस्ता खाले कार्यक्रम ल्याउन सकेका छैन त्यसैले पनि यहाँ निरक्षरको संख्या बढी रहेको हो ।’

सरकारले ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ यो वर्षको भर्ना अभियान सुरु गरिसकेको अवस्था छ । यद्यपी भर्ना अभियानमा विद्यार्थीको संख्या हवात्तै पढेपनि जिवीकोपार्जनमा, शिक्षा भन्दा अन्य व्यवसाय अपनाउन सजिलो हुने हुँदा यहाँका बालबालिकाले पढाइलाई निरन्तरता दिने गरेका छैनन् । श्री राप्रावि गंगुली, व्यवस्थापन समितिका अध्यक्ष नागेश्वर ठाकुरका अनुसार, ‘अझै पनि अभिभावकहरुमा पढेर के हुन्छ र भन्ने भावना रहेको छ त्यसैले विद्यार्थीहरु विद्यालय तर्फ आकर्षित हुन नसकेको हो ।

विद्यार्थीहरुलाई विद्यालय तर्फ आकर्षित गराउन नै यस घोडघाँस गाविस वडा नं ७ मा सरकारले वि.स.२०५२ देखि ०५५ सम्म पौष्टीक आहार कार्यक्रम संचालन गरेको थियो । राष्ट्रिय निमावी गंगोली व्यवस्थापन समितिका अध्यक्षका अनुसार यो कार्यक्रम संचालन हुँदा उल्लेख्य रुपमा विद्यालयमा बालबालिकाको उपस्थिति थियो । किनभने गरिवी चरम रुपमा भएको हुँदा खान पाउने प्रलोभनमा पनि केटाकेटीहरु विद्यालय आउने गर्थे र अभिभावकहरुले पनि खुसीका साथ छोराछोरीलाई विद्यालयमा पठाउने गर्थे । पौष्टीक आहार को कार्यक्रम बन्द भएपछि बालबालिकाहरु पनि विद्यालय आउन छाडदै गए । त्यसैले यहाँका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गराउन सरकारले पौष्टीक आहारा जस्तै छुटटै कार्यक्रम संचालन गर्न उनी सुझाउँछन् ।

अर्कोतर्फ सरकारले गरिव, दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेपनि गाउँका गरिव विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । जसको पहुँच छ उसैले यस्ता र छात्रवृत्ति र पुरस्कार हातपार्ने हुँदा गरिव, दलित र बालिका विद्यालय बाहिर छन् । श्री बासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालय लग्मा पुखारी टोल ९ का सहायक शिक्षक विजय कुमार यादव भन्छन्, विद्यालय नजाने विद्यार्थीको संख्या एकीन भन्न गार्‍हो भएपनि वडा नै ६,७ ८,९ का अधिकांश बालबालिका नै विद्यालय जादैनन् । अभिभावक स्वयं नै आफना छोराछोरीलाई ७, ८ वर्षको उमेर देखि नै काम गर्न भारत पठाउँछन् तर विद्यालय पठाउदैनन् । पढाउने संस्कृतिकै सुरुवात नभएको दाबी उनको छ ।

धनुषाका यी क्षेत्रमा मात्र होइन, क्षेत्र नं १ मा पर्ने बेहंगा, शिवपुर, कुवारामपुरका माझी, चिटकैया जातीका अधिकांश बालबालिका विद्यालय बाहिर नै छन् । पढेर ज्ञान आर्जन गर्नुलाई महत्व नंिदने प्रचलनले गर्दा स.साना नानीहरु घरकै काममा व्यस्त हुनु परेको हो । त्यसैले सरकारले यस्ता ठाउँमा कार्यक्रम लैजादा कसरी बालबालिकाहरुलाई विद्यालयसम्म पुरयाउन सकिन्छ भन्ने बारे दिर्घकालीन योजना बनाएर काम गर्नु जरुरी भैसकेको छ । हैन भने यी बालबालिका शिक्षा लिनबाट बंचित रहनेछन् ।
इमेजखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *